February 13, 2010

क्रिकेटरसँग नजिकिए नायिकाहरू


क्रिकेटरहरू बलिउडका नायिकाहरूसँग नजिकिनु नौलो विषय होइन, तर ताजा जानकारीअनुसार पछिल्लो पटक बलिउडका चारजना नायिका क्रिकेटरहरूसँग 'डेटिङ' गैरहेका छन् ।

समिरा रेड्डी र इशान्त शर्मा ः गत वर्षको आईपीएल म्याचदेखि भारतीय क्रिकेट टिमका राइट आर्म फास्ट बलर इशान्त शर्माको व्यक्तित्वबाट प्रभावित नायिका समिरा रेड्डी उनीसँग प्रेम गर्न थालेकी छिन् । समाचारमा जनाएअनुरूप आइपीएलको म्याचबाट फुर्सद मिलाएर यी दुई 'डेटिङ' जान्थे । समिराले भने उक्त समाचारलाई गलत बताइरहेकी छिन् ।

श्रीया शरण र श्रीसन्थ ः 'तुझे मेरो कसम', 'थोडा तुम बदलो थोडा हम', 'शुक्रिया', 'आवारापन', 'मिशन इस्तानबुल', 'एक' जस्ता हिन्दी चलचित्र तथा दर्जनौं दक्षिण भारतीय चलचित्रकी नायिका श्रीया शरणको भारतीय क्रिकेटर श्रीसन्थसँग प्रेम सम्बन्ध रहेको चर्चा छ । यद्यपि एउटा क्रिकेट कार्यक्रममा बलिउड नायिका मिनिषा लाम्बाले श्रीसन्थलाई चुम्बन गरेपछि मानिसहरूले श्रीसन्थप्रति शंका गर्न थालेका छन् ।

विद्या बालन र जाहिर खान ः पछिल्लो खबरअनुसार भारतीय क्रिकेटका फास्ट बलर जाहिर खानसँग विद्या बालनको अफेयर चलिरहेको छ । ट्वेन्टी-ट्वेन्टी म्याच प्रत्यक्ष हेरेपछि जाहिरको डाइहार्ट फ्यान भएकी विद्याले त्यसपछि भनिन्- 'जाहिर इज द हटेस्ट क्रिकेटर अन द ब्लक ।' विद्याले उनलाई मन पराए पनि जाहिरको प्रेम भने 'लक बाइ चान्स' की नायिका इशा सर्वानीसँग छ ।

अमृता अरोरा र उस्मान अफजल ः लन्डन बसिरहेका पाकिस्तानी क्रिकेट टिमका लेफ्ट ह्यान्ड बलर उस्मान अफजलको बलिउडकी नायिका अमृता अरोरासँगको प्रेमका किस्सा निकै सुनिन्छ । उनीहरूबीच सम्बन्ध टुक्रिएको हल्ला चले पनि अमृता बेलाबखत उस्मानलाई भेट्न लन्डन गैरहन्छिन् । अमृताले पनि उनीहरूको ब्रेकअपको हल्ला गलत भएको बताएकीले उनीहरू अझैं प्रेममै रहेको प्रमाणित भएको छ ।

दीपिका र युवराज ः दीपिका पादुकोण रणवीर कपुरबाट अलग भएपछि एक्लो भइन् । भारतीय क्रिकेटका चर्चित खेलाडी युवराजसिंह पनि प्रीति जिन्टासँग सम्बन्ध तोडेपछि एक्ला थिए । त्यसैले दीपिका र युवराज 'डेटिङ' जान थाले । फेरि उनीहरूको सम्बन्धमा चिसो पस्यो । उनीहरू अलग भए । पछिल्लो खबरअनुसार वर्ष २००९ मा टुक्रिएको युवराज र दीपिकाको सम्बन्ध वर्ष २०१० मा फेरि जोडिँदैछ ।