April 27, 2010

चार पेनाल्टी, चौध गोल

काठमाडौ, वैशाख १४ - एकै दिन चार पेनाल्टी र १४ गोलसँगै सहिद स्मारक 'ए' डिभिजन लिगमा सोमबार सयौं खेल पूरा भएको छ । एक खेल र एक दिनमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाउने क्रममा एनआरटीले एपीएफलाई ५-३ ले हरायो भने मनाङमस्र्याङदी र फ्रेन्ड्सले ३-३ को नतिजा निकाले ।

सुरुआती १३ मिनेटमै ३-० ले अघि रहेको एनआरटीको जितमा डेनिस स्ट्राइकर सयन मोसाभी नायक रहे । लोभलाग्दा तीन गोल गरेर थ्रीस्टारका सन्तोष साहखुलपछि लिगमा दोस्रो ह्याटि्रक गर्ने खेलाडी बने । लिगका सय खेलमा २ दशमलव ५२ को औसतमा जम्मा २ सय ५२ गोल भएको छ । एनआरटीले गरेको २८ मध्ये १३ गोल मोसाभीको नाममा रह्यो । सर्वाधिक गोलकर्ताको सूचीमा १५ गोल गरेका थ्रीस्टारका सन्तोष शीर्षस्थानमा छन् ।

नवीन न्यौपानेको पासमा उनले पाचौं मिनेटमै गोलको खाता खोले । कर्नरमा प्राप्त अवसर सदुपयोग गर्दै नवौं मिनेटमा दोस्रो गोल गरेका उनले त्यसपछि ह्याटि्रक गर्न ६१ मिनेट कुर्नुपर्‍यो । सटिक प्रहार गर्न खप्पिस मोसाभीले एकल प्रयासमा उत्कृष्ट रूपमा बललाई पोष्टको दिशा दिई ७२ औं मिनेटमा लिगको दोस्रो ह्याटि्रक पूरा गरेका थिए ।

पहिलो चरणमा शीर्षस्थानमा रहेको एनआरटीको जितमा रञ्जित श्रेष्ठ र जीवन सिन्केमानले पनि गोल गरे । तेह्रौं मिनेटमा दर्शनीय डाइभिङ हेड गर्दै रञ्जितले लिगमा पाँचौं गोल पूरा गरे । जीवनले ४५ औं मिनेटमा बललाई जाली चुमाएर एनआरटीलाई पहिलो हाफमा ४-१ ले अघि बढाएका थिए ।

नवीन न्यौपानेको फलमा पाएको पेनाल्टीलाई ३१ औं मिनेटमा गणेश लावती चुकेनन् । सर्वाधिक गोलकर्तामा तेस्रोका गणेशको यो नवौं गोल हो । दोस्रो हाफमा दुर्गाराज लावत र टोप विष्टले एक-एक गोल गरे पनि रेलिगेसन टार्ने एपीएफको योजनामा एनआरटीसँग अंक खोस्न सकेन ।

पाँच खेलबाट १२ अंक जोडेको विभागीय टिम पुच्छरबाट तेस्रो स्थानमा छ । लिगमा अन्तिमका दुई टिम रेलिगेसनमा पर्ने छन् । जितसँगै ३४ अंक जोडेर एनआरटी दोस्रो स्थानमा उक्लिएर उपाधि होडलाई कायमै राख्यो । एक खेल कम खेलेको पुलिस ३८ अंकमा शीर्षस्थानमा

रहेको छ ।

मनाङमस्र्याङदीले अंक बाँडेको खेलमा ६ गोल भए पनि खलाडीको प्रदर्शन निराशाजनक रह्यो । दुवै टिमले स्टारलाई आराम दिएर नयाँ खेलाडीलाई अवसर दिएका थिए ।

तीन गोल पेनाल्टिमा सम्भव भयो । त्यसमा फ्रेन्ड्सले दुई र मनाङमस्र्याङदीले एक पेनाल्टी अवसर उपयोग गरे । दुईपल्ट पछि परेको स्थिति उल्टाएको फ्रेन्ड्सको लागि राजन अधिकारी, नूरराज काफ्ले र सन्तोष तामाङले गोल गरे । सुजन लिम्बू, शिव श्रेष्ठ र गणेश खडिको गोलमा मनाङमस्र्याङदीले एक अंक थपे ।


मनाङमस्र्याङदी ३-३ फ्रेन्ड्स

एनआरटी ५-३ एपीएफ