July 20, 2009

लोकतान्त्रिक समाजवादबारे

साउन ६ गते विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस । नेपालको इतिहासमा जनआधारित उदार लोकतान्त्रिक राजनीतिको प्रणेता स्वर्गीय बीपी नै हुन् । उनको जतिको उच्चो राजनीतिक कद उदार लोकतन्त्रवादी विचारधारामा कसैको छैन । पछिल्लो विकसित गणतान्त्रिक राजनीतिक विकासको प्रणेता माओवादी अध्यक्ष प्रचण्ड हुन् । गणतन्त्रवादीबीच यिनको जतिको अग्लो कद अरू कसैको छैन । खैर यस विषयमा छुट्टै विश्लेषण होला ।
साउन ६ गते बीपीका विचार, कृतित्व र व्यक्तित्वबारे प्रवचन दिने काम हुन्छ । कांगे्रस सभापति गिरिजाप्रसाद कोइराला बीपीको जन्मदिवस, स्मृति दिवस र राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ता बन्छन् । यस्ता कार्यक्रममा बीपीको लोकतान्त्रिक समाजवादबारे प्रवचन दिन्छन् । यस विषयका उनी 'अथोरिटी' पनि हुन् । यस्ता कार्यक्रममा उनी बीपीलाई जोडेर एक सदावहार फर्मुला भन्छन्- सान्दाजु भन्नुहुन्थ्यो, कम्युनिजममा डेमोक्रेसी थपिदिनुस्, सोसल डेमोक्रेसी हुन्छ, सोसल डेमोक्रेसीबाट डेमोक्रेसी झिकिदिनुस्, कम्युनिजम बन्छ । यो वाक्य कांगे्रस पंक्तिले सयौंपटक सुनेका छन् । मुलुकले सुनेको छ । सायद यसपटक पनि उनले यो सूत्र दोहोर्‍याउलान् ।

मुलुुकमा 'सोसल डेमोक्रेसीबारे ठोस चिन्तनको अभाव भएरै होला, केही महिनाअघि कांगे्रसी चिन्तक प्रदीप गिरीले कांगे्रस र मुलुकमा लोकतान्त्रिक समाजवादी चिन्तनको संस्कार नभएको गुनासो यसै दैनिकमा एक आलेखमार्फत गरे । त्यस्तैै यसै दैनिकमा डा. देवेन्द्रराज पाण्डेले त्यत्रा विधि साहित्य सिर्जना गर्ने बीपीले समाजवादबारे एक खँदिलो कृति नछोडेकाले कहाँबाट कांग्रेसभित्र समाजवादबारे बहस र छलफल होला र भन्ने संशय गरेका थिए । यो कटु वास्तविकता हो । यसैको परिणाम कांगे्रस अहिले यथास्थितिवादी, प्रतिगामी, शोषण र सामन्तवाद पक्षधर, 'नियोकोन' र नवउदारवादीको कब्जामा छ । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी दल भन्न कोही पनि पक्कै लजाउँछ, यदि उसमा पाखण्डीपन छैन भने ।

के सोसल डेमोक्रेसी र कम्युनिजम भनेको कोइरालाले भनेझैं डेमोक्रेसी शब्द झिक्ने र हाल्ने फर्मुलामात्र हो ? यी दुई राजनीतिकवादमा तात्विक अन्तर छन् ? यसबारे अलिक गम्भीर विश्लेषण हुनुपर्छ । कम्युनिजममा निजी सम्पत्तिको पूर्णतया निशेष गरिएको हुन्छ । कम्युनिजमलाई एक वाक्यमा भन्न सकिन्छ- दाल डुकु तरकारी, जीउधन सरकारी । के गिरिजाप्रसादले सुनाउने उनको सान्दाजुको सोसल डेमोक्रेसी पनि त्यस्तै हो ? यदि हो भने त्यो व्यवस्थामा राजनीतिक र नागरिक अधिकार रहन्छ, तर सम्पत्तिमाथिको अधिकार रहँदैन भन्ने अर्थ लाग्छ, यदि उनको सान्दाजुको सूत्रलाई व्यवहारमा नीतिगत कार्यान्वयन गर्दा । यसको अर्थ उनी प्रचण्डभन्दा बढी महान क्रान्तिकारी र अग्रगामी परिवर्तनकामी हुनुपर्ने हो । तर किन अहिले यस्ता महान समाजवादी सूत्रधारको दल माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गरेन भनेर रडाको मच्चाइरहेका छन् ? गिरिजाप्रसादले यस्तो भाषण गरिरहँदा मच्चीमच्ची ताली पिट्ने रामचन्द्र पौडेल, कुलबहादुर गुरुङदेखि शेरबहादुर देउवासम्म कब्जा गरेको सम्पत्ति किन फिर्ता गरेनन् भनिरहेका छन् ?

जनतालाई राजनीतिक 'म्यानुपुलेसन' गर्न समतामूलक समाज र सामाजिक न्यायको भाषण जति नै गरे पनि सम्पत्तिमाथिको निजी स्वामित्व रहेसम्म त्यो दार्शनिक, सैद्धान्तिक र व्यावहारिक तीनै धरातलमा कहिल्यै प्राप्ति हुँदैन । किनभने सम्पत्तिमाथिको निजी स्वामित्वले फरक व्यक्तिका फरक आर्थिक हैसियत र आर्थिक विरासत बनाउँछ । निजी सम्पत्तिको कारणले निजी वस्तुमाथिको फरक पहुँच स्थापित हुन्छ । यसरी फरक पहुँचको कारण आर्थिक, सामाजिक र राजनीतिक असमानता जन्मन्छ । परिणाम सामाजिक न्याय, समानता र समतामूलक समाज स्थापित हुनै सक्दैन । तर यस्तो आर्थिक हैसियत र विरासतको भिन्न व्यक्तिहरूमा भएको असमानताको मात्रालाई कसरी कम गर्ने र समाजमा न्यायिकता र सुष्ठता हासिल कसरी गर्ने प्रश्न अहम् हो । त्यो हासिल हुने माध्यम हो, सोसल डेमोक्रेसी, जसले साम्यवादमा जस्तो वर्गविहीन र निजी सम्पत्तिरहित समाजभन्दा पृथक प्रणालीको परिकल्पना गर्छ ।

धेरैजसो अर्थराजनीतिक विचारधारा, दर्शन, सिद्धान्त र प्रक्रियाको उद्देश्य समाज विकास गर्ने हो । समाज विकासको अर्थ समाजको अग्रगामी रूपान्तरण हो । सबैको आर्थिक-सामाजिक समृद्धि, राजनीतिक प्रक्रियामा सहभागिता, सांस्कृतिक र अन्य अस्मिता र पहिचान कायम हुने अवस्था हो । कार्लमाक्र्सको उद्देश्य पनि समाज रूपान्तरण नै थियो । तर उनी क्रान्तिकारी रूपान्तरणका पक्षपाती थिए । लोकतान्त्रिक समाजवादीहरू उद्धविकासवादी रूपान्तरणका पक्षपाती थिए ।

अहिले समाजमा व्याप्त समस्या वर्गीयमात्र होइनन्, जातीय, जनजातीय, क्षेत्रीय, लैङ्गकि, भाषिक, सांस्कृतिक र अन्य सिमान्तकरण र बहिस्करणले समाजमा आर्थिक, सामाजिक र राजनीतिक असमानता जन्माएको छ । यसको मात्रा कम गर्ने र समाजमा न्यायिकता, सुष्ठता हासिल गर्ने कार्य नै समाजवाद हो । यस्तो समाजवाद साम्यवादभन्दा पृथक, व्यापक र उच्च हुन्छ । विशुद्ध आर्थिक विचारधारात्मक समाजवादको अबको समय चेतनामा एकल स्थान बन्नै सक्दैन । अहिले समाजवाद भनेको सामाजिक रूपान्तरण हो । सबैको पहिचान र अस्मिताको सम्मान हो । राजनीतिक प्रतिनिधित्व र शासन प्रक्रियामा पहुँच हो । शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासको सुनिश्चितता हो । र यही हो लोकतान्त्रिक समाजवाद ।

बीपीको समाजवादको वकालत गर्नेले विगत १५ वर्षमा १३ वर्ष शासनको अवसर पाए । त्यो १३ वर्षे इतिहास यस विषयको प्रमाण हो कि माथि उल्लिखित कुनै उपक्रम कांग्रेसले गरेन । बरु हर्वट स्पेन्सरको सामाजिक डार्विनवादलाई जबर्जस्त नेपाली समाजमा लाद्न खोज्यो । 'नियोकोन' र नवउदारवादको पक्षपोषक रह्यो । अहिले पनि कांग्रेस सत्तामा रहँदा यसको नीति निर्माणमा यही विचारधाराको बोलवाला रहन्छ ।

बीपीको आत्मवृत्तान्त, आत्मकथा तथा भएका सबै साहित्य तथा राजनीतिक साहित्य र उनको जीवनकालको राजनीतिक दस्तावेजको अध्ययन गर्दा बीपीको मनमा लोकतान्त्रिक समाजवादी भए पनि दस्तावेजका आधारमा उनी उदार लोकतन्त्रवादी नै ठहरिन्छ । तर पनि ०१२ सालको महाधिवेशनको दस्तावेजमा नेपालको जातीय, क्षेत्रीय र सांस्कृतिक पहिचानको विकास समेटिएको छ । कांग्रेसले त्यसैको कार्यान्वयनमा पनि किन कन्जुस्याइँ गर्‍यो, बुझ्न गाह्रो छैन ।

अहिले मुलुकमा देखिएको राजनीतिक संकटको जड निजी सम्पत्तिमाथि जोडिएको छ । केही अगाडि मुलुकमा सरकार माओवादीको थियो । तर प्रशासन र सेना कांगे्रसको अधीनमा थियो जस्तो महसुस हुन्थ्यो । हुँदाहुँदा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिसमेत विवादमा तानिदै सेनापति प्रकरणमा असंवैधानिक कदम उठाउन पुगे, जसको कारण माओवादीको सरकार ढल्यो । एमाले संसारको एकमात्र यस्तो साम्यवादी पार्टी हो, जो खुल्लमखुल्ला निजी सम्पत्तिको वकालत गर्छ । यसैको परिणाम हो, कांगे्रस-एमालेका नेताहरूले माओवादीले सत्ताकब्जा गर्छ भन्ने हुइयाँ पिटाउँदै स्यालको डरले सिंहको सवारी चढ्न पुगे । यो सबैको कारण राजनीतिमा लागेर जायज/नाजायज तरिकाले जोडेको निजी सम्पत्ति बचाउनसँग जोडिएको छ ।

निजी सम्पत्तिमाथिको स्वामित्वको सवाल पुँजीवादी, सोह्रौं शताब्दीको सामन्तवाद र मध्यकालीन दास युगको मात्र होइन । त्यो एरिस्टोटल, प्लेटो, सोक्रेटसकालीन मात्र पनि थिएन । सोक्रेटसभन्दा पनि चार सय वर्ष अगाडि सोफिस्ट र त्यसभन्दा पनि अगाडि हेरोलिक्टसको समयदेखिकै हो । प्लेटोले त्यसबेलाको निजी सम्पत्तिमाथिको मोहको आधारमा भएका राजनीतिक दाउपेच, चरम भ्रष्टाचारलाई देख्न नसकेर सम्पत्ति र श्रीमतीको साम्यवादको परिकल्पना अगाडि सारे । राजनीतिक नेता र सैनिक नेतृत्वले निजी सम्पत्ति र श्रीमती राख्न नपाउने राज्यव्यवस्था निर्माण गर्ने परिकल्पना अगाडि सारे । अहिले पनि राजनीतिशास्त्रीहरू उनको यो साम्यवादलाई नैराश्य साम्यवाद भनेर अध्ययन गर्छन् ।

यस्तो अवस्थामा कोइरालाले बीपीको समाजवादको व्याख्या यस्तो कृत्रिम सूत्रले गर्छन् । यदि उनले इमानदारिताका साथ गरेका हुन् भने उनी माओवादी अध्यक्ष प्रचण्डभन्दा पनि बढी परिवर्तनकामी हुनुपर्ने होइन र ? प्रचण्ड बबुरा बृहत शान्ति सम्झौता, विभिन्न बुँदे सम्झौता र अन्तरिम संविधानमै निजी सम्पत्ति अनतिक्रम्य रहने भनेर सम्झौता गर्न पुगे । यसकारण प्रचण्डको 'फ्युजन' कोइरालाको सूत्रभन्दा कैयौं गुणा कमजोर दरिन्छ । कम्युनिजममा लोकतन्त्र थपिदिँदा लोकतान्त्रिक समाजवाद हुन्छ भने सम्पत्तिमाथिको यो रडाको किन ? देउवाले यथास्थितिवादै सही, भूमिसुधार कार्यक्रम घोषणा गर्दा जग्गावाल २२ कांग्रेसी सांसदले किन त्यसको विरोध गरे ? त्यसबाट प्रस्ट हुन्छ, कोइरालाको कथन शाब्दिकमात्र हो । कांग्रेस बीपीलाई बिर्सेर लोकतान्त्रिक समाजवादको धारबाट बहकिँदै गएको छ ।

No comments:

Post a Comment