July 20, 2009

अफगानिस्तानको दुर्घटनामा चार नेपालीको मृत्यु, हामफालेर दुई बाँचे

काठमाडौं, अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा आइतबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा चार नेपालीको निधन भएको छ । दुई नेपाली जल्दै गरेको हेलिकप्टरबाट हामफालेर बाँच्न सफल भएका छन् ।
रोजगारीका लागि काठमाडौंबाट संयुक्त अरब इमिरेट्सको दुबई हुँदै साउन १ मा कान्दाहार पुगेका छ नेपाली कामदारमध्ये पोखराका जनक पोखरेल र विष्णु मल्ल तथा हेटौंडाका नवराज खडका र सुनिल लामिछानेको मृत्यु भएको हो । हामफालेर पोखरा-५, मालेपाटनका २५ वषर्ीय रमेश जीसी र स्याङ्जाका २३ वषर्ीय अभिषेक अधिकारी बाँच्न सफल भएका हुन् ।

'बिहान साढे ११ बजेतिर हामी बसेको हेलिकप्टर कान्दाहार धावनमार्गबाट उड्नै लागेको थियो, जीसीले कान्दाहारबाट फोनमा कान्तिपुरसँग भने, 'म र अभिषेक भने सिटबेल्ट खोलेर भाग्न सफल भयौं ।' उनीहरू दुईमध्ये हातमा सामान्य चोटपटक लागेका जीसी स्थानीय रिमुट मेडिकल सोलुसन इन्टरनेसनलको क्यानेडियन हस्पिटलमा तीन घन्टा उपचार गराई आइतबारै क्याम्प फिर्ता भएका छन् । अभिषेक पनि स्थानीय क्यानेडियन अस्पतालमा सामान्य उपचारपछि क्याम्प फिर्ने क्रममा छन् ।

'हामी निर्माण कम्पनीका लागि आएका थियौं, कान्दाहारबाट आधा घन्टा टाढाको स्टिमबुडेक बेसतिर काममा जानका लागि उडान भर्न लागेका थियौं,' क्याम्पमा आराम गरेर बसिरहेका जीसीले सुनाए, 'हेलिकप्टरले धावनमार्ग छाडेर माथि उड्नासाथ फेरि भुइँमा झरेको थियो, एकाएक भित्र आगो फैलिएको देखियो । अनि अभिषेक र म भने पछाडिको अलिकति खुलेको ढोकाबाट हाम फालेर भाग्यौं ।'

यी छ जना युवा कामदारहरू काठमाडौंका दुई एजेन्टलाई जनही ३ लाख रुपैयाँ बुझाएर दुई महिनाअघि दुबई पुगेका थिए ।

'दुबईमै दुई महिना अल्भिmनुपर्‍यो, बल्लतल्ल अफगानिस्तान आएर काम थाल्न लागेका थियौं,' जीसीले सुनाए, 'सुरुमै विपत्ति आइपर्‍यो ।' नर्थ एटलान्टिक टि्रटी अर्गनाइजेसन -नाटो) बेसअन्तर्गत कार्यरत उनीहरूलाई मासिक साढे ६ सय डलर तलब र २ सय डलर बोनस दिइने भनिएको

थियो । अब साथी अभिषेकसँग सल्लाह गरेर काममा बसिरहने कि घर फिर्ने भन्ने निधो गर्ने उनले बताए ।

नाटो बेसभित्र मात्रै ५० भन्दा बढी कम्पनी रहेको र तिनमा सबैतिर गरेर एक हजारभन्दा बढी नेपाली रहेको हुनसक्ने त्यहाँ कार्यरत नवलपरासीका अर्जुन रेग्मीले बताए । 'म प्लेनमा इन्धन भर्ने काम गर्छु, क्याम्पछेउमा बसिरहेका बेला अचानक ठूलो आवाजले पडकेको सुनेको थिएँ,' रेग्मीले सुनाए, 'पछि थाहा लाग्यो, हाम्रै साथीहरू पनि त्यसमा परेका रहेछन् ।'

रुसमा बनेको एमआई-८ हेलिकप्टरमा यात्रु १८ जना थिए ।

'चालक दलका तीन सदस्य थिए,' जीसीले भने, 'उनीहरू बाँचे होलान् । किनभने १६ को निधन भएको र पाँच जना घाइते भएको खबर सुनेको थिएँ । नेपाली चारजनाबाहेक मृतकमा फिलिपिनो र अन्य पहिचान नभएको देशका नागरिक रहेको उनले बताए । जीसीले सोमबार दिउँसो पोखरास्थित घरमा बुबाआमालाई फोन गरेर आफ्नो स्थिति जानकारी गराएका थिए ।

'यहाँको कम्पनीले नेपालीका परिवारलाई क्षतिपूर्ति पठाउन बैंक खाता खोल्नका लागि खबर पठाइसकेको भन्ने सुनिएको छ,' नेपाली कामदारको निधनबारे जानकारी गराउने हेरात बेसस्थित धादिङका साधुराम थापाले भने ।

No comments:

Post a Comment