July 21, 2009

बाँचुन्जेल गद्दार, मृत्युपछि महान नेता !

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल भौतिक रूपमा यस संसारबाट विदा हुनुभएको तीन दशक पूरा भयो । हरेक वर्ष साउन ७ गते उहाँको स्मृति दिवस मनाउने र आ-आफ्नै ढङ्गले सम्झना गर्ने चलन छ । ५४ वर्षको अल्पायुमै हृदयाघातका कारण बित्नुभएका पुष्पलाल एकजना माक्र्सवादी सिद्धान्तकार, चिन्तक, नेपाली भूमिमा माक्र्सवादका अग्रणी प्रयोगकर्ता र प्रचारकमात्र होइन, मुलुकमा कम्युनिस्ट आन्दोलनको स्थापना गरी आजीवन त्यसकै विकास र विस्तारमा समर्पित जननेता हुनुहुन्थ्यो ।
विसं १९८१ साल असार १५ गते रामेछापको भङ्गेरीमा भक्तलाल श्रेष्ठ र तुलसीमाया श्रेष्ठको माइलो सन्तानका रूपमा जन्मेका पुष्पलाल त्यसैकारण समकालीन नेताहरूका माझ माल्दाइका रूपमा पनि पि्रय हुनुहुन्थ्यो । जहानियाँ राणाशासन विरोधी जागरणकै क्रममा सहादत प्राप्त गर्नुहुने चार अमर सहिदमध्ये एक आफ्ना दाजु गङ्गालालको बलिदानबाट पे्ररित उहाँले नेपाली राजनीतिलाई त्याग, निष्ठा र जनसेवाको मार्गमा अघि बढाउन निरन्तर प्रयत्न गर्नुभयो र अनेक दमन, दुःख-कष्ट र अभावको जीवन बिताउने क्रममा नै विदा हुनुभयो । उहाँको २०३५

साउन ७ गते बिहान ११ः३० बजे भारतको नयाँदिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।

पुष्पलाल पहिले प्रजापरिषद र पछि नेपाली राष्ट्रिय काङ्गे्रसमा आबद्ध हुनुहुन्थ्यो । तर क्रमशः उहाँको काङ्गे्रससँग मोहभङ्ग हुन थाल्यो । र नेपाली भूमिमा माक्र्सवादको प्रयोग गर्ने सङ्गठन नेपाल कम्युनिस्ट पार्टी -नेकपा) स्थापनाका निम्ति अगाडि बढ्नुभयो । त्यसक्रममै उहाँले माक्र्स-एङ्गेल्स लिखित कम्युनिस्ट घोषणापत्रको नेपालीमा पहिलो अनुवाद गर्नुभयो । अन्य चार सहयोगीसँगै १० वैशाख २००६ का दिन भारतको कलकत्तास्थित श्यामबजार इलाकाको २८, नवीन सरकार गल्लीस्थित एक घरको दोस्रो

तलामा अवस्थित सानो कोठामा नेकपाको

स्थापना गर्नुभयो । पार्टी स्थापनाको ६०

वर्षपछि अहिले मुलुकमा जुन कम्युनिस्ट

जनमत र बर्चस्व कायम छ, यसको श्रेय मूलतः उहाँलाई नै जान्छ ।

राष्ट्रिय हितको आवाज र संविधानसभा

२००७ सालको परिवर्तनपश्चात् नेकपा मूलतः सङ्गठन विस्तार र किसान आन्दोलनमा सक्रिय भयो । दिल्ली सम्झौताले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई कुठाराघात गरेको तथ्य उजागर गर्दै पार्टीले राष्ट्रियताप्रतिको आफ्नो स्पष्ट अडान र निष्ठा प्रदर्शित गर्‍यो । साथै राजा त्रिभुवनले जनतासमक्ष वचनबद्धता प्रकट गरेको 'संविधानसभाको चुनाव'का निम्ति दबाब सिर्जना गर्ने अभियान जारी राख्यो । पार्टीभित्र पुष्पलाल निरन्तर संविधानसभाको चुनावको पक्षमा उभिनुभयो । यद्यपि उहाँको मृत्युको २९ वर्षपछि मात्र मुलुकमा उहाँको अडान र परिकल्पना

साकार भयो ।

०१७ सालको 'कू'पश्चात् पुष्पलालले विघटित संसदको पुनःस्थापनाको पक्षमा जोड दिनुभयो । खासगरी ०१५ सालको आमचुनावको जनादेश र त्यसअनुरूप लोकतान्त्रिक ढङ्गले मुलुकको शासन चलाउनुपर्ने कुराकै औचित्य उहाँको यस अडानले प्रस्ट गथ्र्याे । अझ जननिर्वाचित संसदको बहालीले राजतन्त्रसँगको सङ्घर्षलाई पनि अघि बढाउन बल पुग्नेमा उहाँ बेलायतका राजा र संसदबीच चलेको लामो सङ्घर्षका घटनाको अध्ययनबाट पनि पे्ररित हुनुहुन्थ्यो । वास्तवमा त्यसबेला विघटित संसदको पुनःस्थापना गर्ने कार्यनीतिक नारा उचित र सही थियो । यो तथ्य ०५९ असोज १८ गते विघटित प्रतिनिधिसभाको ०६३ वैशाख ११ गते पुनःस्थापना भएपछि त्यसले सम्पादन गरेका ऐतिहासिक महत्त्वका कामहरूको परिणामले समेत सत्य प्रमाणित गरेको छ ।

पुष्पलालले पञ्चायत व्यवस्थाको अन्त्यका निम्ति काङ्गे्रस र कम्युनिस्ट पार्टीबीच सहकार्य तथा संयुक्त जनआन्दोलनको कार्यनीतिमा जोड दिनुभयो । तर टुक्रा-टुक्रामा विभक्त कम्युनिस्ट आन्दोलनको अवस्था तथा काङ्गे्रस नेतृत्वले कम्युनिस्ट पार्टीभन्दा राजतन्त्रलाई निकट देख्ने दृष्टिकोणका कारण उहाँ बाँचुन्जेल संयुक्त आन्दोलनमा सैद्धान्तिक सहमतिसमेत बन्न

सकेन । बरु 'राजा र आफ्नो घाँटी जोडिएको' बताएर बीपी कोइरालाजस्ता उन्नत स्तरका नेतासमेत राजासँग मेलमिलापको नीतिको

भ्रममा फँस्नुभयो ।

०४६ सालमा आएर काङ्गे्रसका नेता गणेशमान सिंह र तत्कालीन नेकपा -माले) का महासचिव मदन भण्डारीको नेतृत्वमा संयुक्त वाममोर्चाको गठन र संयुक्त जनआन्दोलन अघि बढाउने काम भयो । यसरी पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यनीतिक मान्यताको सफल कार्यान्वयनकै परिणामस्वरूप ०४६ चैत २६ गते पञ्चायतको अन्त्य एवं बहुदलीय व्यवस्थाको पुनरोदय भयो । पुष्पलालको मान्यता कार्यान्वयन भएर 'नेपालीहरू प्रजाबाट नागरिक हुन पाएको' त्यस ऐतिहासिक परिवर्तन हुँदा पुष्पलाल बित्नुभएको १२ वर्ष बितिसकेको थियो ।

मृत्युपछि सफल र निर्विवाद नेता

पुष्पलाल मुलुकका तमाम राजनीतिज्ञमध्ये वंशानुगत राजतन्त्रको अन्त्यका निम्ति आजीवन र अविचल रूपमा सङ्घर्षशील एक्लो वृहस्पतिजस्तै हुनुहुन्थ्यो । उहाँले निरङ्कुश त के वैधानिक राजतन्त्रको औचित्यसमेत कहिल्यै देख्नुभएन । ०३३ वैशाख-जेठको मुक्तिमोर्चामा प्रकाशित लेख 'नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य -अन्त्य)' ले नै उहाँको दृष्टिकोण स्पष्ट गर्छ । पुष्पलालले जोड दिनुभएको छ, 'नेपालमा राजतन्त्रको भविष्य अन्धकारमय छ र यसको अन्त्य अनिवार्य छ ।'

पुष्पलालले तीन दशकअघि दिनुभएको जोडअनुरूपै ०६२/६३ को जनक्रान्ति सम्पन्न भयो । र २ सय ४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य भइछाड्यो । तर त्यसपछि पनि विदेशी स्वार्थलाई उखेलेर फ्याँक्ने काम गर्न बाँकी नै छ । तबमात्रै मुलुकको स्वाधीनता, राष्ट्रिय हित र अखण्डताको रक्षा एवं आमूल परिवर्तन, विकास र समृद्ध राष्ट्र निर्माणको काम गर्न सम्भव हुनेछ ।

पुष्पलालले बाँचुन्जेल सही नीति र व्यवहारमा जोड दिनुभयो । तर उहाँका दूरदर्शी नीतिहरूको सच्चाइ आत्मसात गर्ने ढङ्गको एकताबद्ध पार्टी निर्माण हुनसकेन । मुख्यतः ०१२ सालमा चीन भ्रमणका लागि छनोट नभएको आवेगमा उहाँले पार्टीको कार्यवाहक महासचिव हुन मान्नुभएन । त्यो उहाँको ठूलो भूल थियो । फलस्वरूप पार्टीभित्र रायमाझीको उदय हुनपायो । ०१७ सालपछि डा. केशरजङ्ग रायमाझीको राजावादी गुटलाई निषेध गरी ०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनपछि पार्टी जुन उत्साह र गतिका साथ अघि बढ्नुपथ्र्यो, त्यसको ठीक उल्टो स्थिति बन्नपुग्यो । खासगरी तुलसीलाल र पुष्पलालबीचको टक्कर तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रूस र चीनलाई धुरी बनाएर भइरहेको विवादकै परिणामस्वरूप पार्टीमा विवाद बढ्यो । अन्ततः ०२५ सालमा पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलन गरी पार्टी विभाजनको अगुवाइ गर्नुभयो । यो उहाँको जीवनकै अर्को ठूलो गल्ती थियो । किनभने पार्टीको अग्रगति विभाजनले होइन, एकताले मात्रै सम्भव थियो ।

विभाजनको त्यही शृङ्खला अन्तर्गत नै आन्दोलनमा गाली-गलौजको प्रतिस्पर्धा चल्यो । नेकपा चौथो महाधिवेशनले 'गद्दार पुष्पलाल' नामक पुस्तक प्रकाशित गर्‍यो । मोहनविक्रम सिंहले आनन्दबहादुर क्षत्रीका नाममा लेख्नुभएको त्यस दस्तावेजमा मुख्यतः 'गद्दार काउत्स्की'को ठाडो नक्कल बढी देखिन्छ । पछि पुष्पलालको निधन हुँदा पार्टी महामन्त्रीको हैसियतमा दिल्ली गई श्रद्धाञ्जली प्रकट गरेको तथा पार्टीको मुखपत्र मशालमा 'कमरेड पुष्पलालको देहान्त, नेपाल कम्युनिस्ट पार्टीमा अपूरणीय क्षति' भनी उल्लेख गरेकोमा निर्मल लामा आलोचित नै हुनुपर्‍यो । झापा विद्रोहको धारामा अघि बढेको कोअर्डिनेसन

केन्द्रले समेत संस्थापक नेता पुष्पलाललाई

गद्दारको संज्ञा दियो ।

त्यतिमात्र होइन, तेस्रो सम्मेलनपछि उहाँले बनाउनुभएको समूहमा समेत उहाँको नेतृत्व अस्वीकार गरी छाड्ने लहर चल्यो । व्यक्तिगत रूपमा होस् वा सामूहिक रूपमा पुष्पलाललाई निकै पि्रयपात्रहरूले समेत छाडे र आ-आफ्नो बाटो लागे । अन्तिमसम्म बलराम उपाध्याय र गोविन्द ज्ञवालीहरू उहाँसँग रहनुभयो ।

तर के देखिन्छ भने नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालकै पे्ररणा र समूहमा आबद्ध नेताहरूको ठूलो पङ्क्ति थियो । मदन भण्डारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनालजस्ता नेतासमेतले ०२५ पछि ०३० को अवधिमा आफूहरू पुष्पलाल समूहकै सदस्य रहेको उल्लेख गरेको तथ्यले पनि यसलाई स्पष्ट पार्छ । ०३५ सालमा नेकपा -माले) को स्थापनालगत्तै पुष्पलालको सकारात्मक मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढ्यो । ०४६ भदौमा भएको पार्टीको चौथो महाधिवेशनले पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिअनुरूप संयुक्त जनआन्दोलन उठाउने प्रयत्न अघि बढायो । यसरी मदन भण्डारी पुष्पलालका सच्चा अनुयायी र वैचारिक उत्तराधिकारीका रूपमा अघि बढ्नुभयो । त्यसपछि त पुष्पलालको सकारात्मक मूल्याङ्कन र सम्मानको नयाँ अध्याय नै थालनी भयो ।

अर्कोतिर ०४० मा निर्मल लामाको नेतृत्वमा रहेको नेकपा -चौम) ले पुष्पलाललाई 'गद्दार' भन्नु गलत हो भनी पहिलेको गल्ती सच्यायो । यस्तै ०५१ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा रहेको नेकपा -मसाल) भित्र व्यापक छलफल र मतदान नै गरेर चित्रबहादुर केसीको अगुवाइमा पुष्पलाललाई गद्दार भन्न नहुने निर्णय भयो । यसरी बाँचुन्जेल 'गद्दार' भनेर तिरस्कृत पुष्पलालले मृत्युपश्चात्

महान नेताको सम्मान पाउनुभयो । नेपाली संस्कार नै यस्तै छ र

पुष्पलालले सम्भवतः अपमानबोधकै कारण विभाजित कम्युनिस्ट समूहहरूबीच न्यूनतम सहमति र सहकार्यका लागिसमेत खासै रुचि र पहल देखाउनुभएन । त्यतिखेर पार्टी एकता त प्रायः असम्भव नै थियो । तर छरिएर रहेका कम्युनिस्ट समूहहरूबीच न्यूनतम सहमति र मोर्चाबन्दी बेगर काङ्ग्रेससँग मिलेर संयुक्त जनआन्दोलन उठाउने कुरा हुन सक्दैनथ्यो । यो पुष्पलालको अर्को कमजोरी थियो । उहाँको यही कमी-त्रुटिलाई सच्याएर पछि मदन भण्डारीले वाममोर्चा गठन एवं काङ्गे्रससँग संयुक्त जनआन्दोलनको प्रक्रिया अघि बढाउनुभयो । ०६२/६३ को जनक्रान्तिअघि १२ बुँदे समझदारीको निर्माण पनि सारतः पुष्पलालकै 'प्रमुख शत्रुविरुद्ध संयुक्त जनआन्दोलन'का संयुक्त मोर्चाकै सफल प्रयोग थियो ।

यसरी पुष्पलाल मृत्युपश्चात् सबैको निर्विवाद नेताका रूपमा स्थापित सर्वपि्रय र सम्मानित हुनुभएको छ । जसरी माक्र्सले आफ्नो भौतिक सुख र सुविधाका निम्ति आफूले प्रतिपादन गरेको वैज्ञानिक सिद्धान्तको दुरुपयोग र सौदाबाजी गर्नुभएन, ठीक त्यसरी नै पुष्पलालले नेपाली भूमिमा माक्र्सवादको प्रयोग गर्ने क्रममा कुनै सौदाबाजी वा चलखेल गर्नुभएन । उहाँको इमानदारी र सिद्धान्तनिष्ठ व्यवहारको सबभन्दा ठूलो परिचय यही हो ।

महान नेता पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली र लेखक नेकपा एमालेसँग सम्बद्ध छन् ।

No comments:

Post a Comment